अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

भारतवर्ष शिक्षा र चेतनाको विकासमा संसारमा नै अग्रणी मानिन्छ तर यतिखेर उत्तरआधुनिक विश्व चेतमा पश्चिमा संसार शिक्षाको ‘हब’का रुपमा स्थापित छ । पश्चिमको भौतिक सम्पन्नता र सामरिक विकासले औद्योगिकरण साथै त्यसको आधारमा उभिएको शिक्षा व्यवस्थाले यूरोप, अमेरिका र अष्ट्रेलियालगायतका मुलुकले यतिखेर नेपाल मात्र होइन विश्वका सबै विकासोन्मुख तथा कम विकसित मुलुकका युवालाई आकर्षित गरेका छन् । आप्रवासन, रोजगारी तथा शिक्षा यतिखेरको अर्थव्यवस्था कै मेरुदण्ड बनेको छ, त्यसैले त यूरोप, अमेरिका अनि अष्ट्रेलिया अरु महादेश र मुलुकका विद्यार्थी भित्रयाउनमा लागि परेका छन् । यतिखेरको ‘ट्रेण्ड’ बनेको छ नेपालमा अध्ययनका लागि विदेश जाने विषय ।
नेपालबाट अष्ट्रेलिया स्टुडेन्ट भिजामा आउने सोच्दै हुनुहुन्छ भने पहिले यो वेबसाइट पढ्नुस् ताकि पछी दुख नहोस् अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

भ्रष्टाचार, कुशासन, अस्थिर, अपराधीकरण भएको राजनीतिका कारण नेपाल यतिखेर युवा तथा बौद्धिक शक्ति पलायनको बाटोमा छ । यतिखेर अभिभावकहरुमा रहेको छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविश्य बनाओस् भन्ने चाहनाका कारण विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ । काठमाडौंमा शैक्षिक परामर्शदाताको कार्यालमा अष्ट्रेलिया अध्ययनको बारेमा बुझ्दा धेरैलाई पहिले अष्ट्रेलिया त पुगुँ त्यसपछि त गरिहालिन्छ नि भन्ने लागिरहेको हुन्छ ।

अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा बिलकुल फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

नर्सिङ भनेर पनि हुँदैन, सजिलो छैन अष्ट्रेलियामा पीआर पाउन

पैसा कि पीआर ?

अष्ट्रेलिया यस्तो शैक्षिक गन्तव्य हो जहाँ अन्र्तराष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन सकेपछिको दुई वर्ष यहीँ बसेर आफ्नो क्षेत्रमा काम गर्ने अवसर भेट्छ । धेरै मुलुकबाट अष्ट्रेलिया अध्ययनका लागि आउनुको कारण यो पनि हो । यतिखेरको अध्यागमन व्यवस्था अनुसार उच्च तह (स्नातक वा स्नातकोत्तर)को अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ । यो त्यही समय हो जतिखेर पूरै समय काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ ।

अष्ट्रेलिया आउने कारण मध्येको सबैभन्दा प्रमुख चैं यहाँको पीआर (स्थायी बसोबास) नै हो । विद्यार्थी भिसामा आएकाले यहाँको जनशक्ति मागको अवस्था अनुसार विभिन्न विषय र क्षेत्रमा स्थायी बसोबासको अवसर पाउँछन् । पीआरका लागि प्रयास गर्ने योजना हो र अष्ट्रेलिया सँधैका लागि बसोबासको थलो बनाउने हो भने त्यसको योजना नेपालबाटै बनाउनु पर्छ । आफ्नो अध्ययनको क्षेत्र र रहेको सीपले नै पीआरको अवसर निर्धारण गर्दछ । पीआर लिएर अष्ट्रेलियामा बसोबास गर्ने हो भने यहाँको माग अनुसारको विषय छनौट गर्नुपर्दछ । यतिखेर अष्ट्रेलियामा नर्सिङ, आइटी र अकान्टिङ विषयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पीआर मिलाउँदछ ।

पीआरलाई केन्द्रमा राख्ने हो भने अष्ट्रेलिया आइसकेपछि काममा भन्दा पनि धेरै ध्यान पढ्नमा दिनुपर्ने हुन्छ । धेरै समय र पटक–पटक फेल भएर पढिरहन नपाइने भएपनि नेपालबाट आउनेले फेल भएर लामो समय बिताउने सोच्नु भने गलत हुनजान्छ । जति ढिला भयो पीआरका लागि त्यति नै धेरै मुस्किल र तरिका अपनाउनुपर्ने हुन्छ ।

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

विषय छनौट

अष्ट्रेलियामा अध्ययन गर्नको लागि विशेष कोर्सहरु बाहेक करिब करिब सबैजसोमा जुनसुकै पृष्ठभूमिका विद्यार्थीले जुनसुकै कोर्स अध्ययन गर्न पाउँछन् । भाषाको न्यूनतम मापदण्ड भने पालना गर्नुपर्छ जस्तो कि स्नातकोत्तरमा अध्ययन गर्नका लागि आइएलटीएसमा कम्तिमा ६.५ ओभरअलमा आएको हुनुपर्छ (यो विश्वविद्यालय र कोर्स अनुसार फरक हुन्छ) । त्यसैले सकेसम्म अष्ट्रेलियामा भविष्य र पीआरको सम्भावना भएको विषय छान्नु उत्तम हुन्छ ।

नेपालका कन्सल्टेन्सीहरुले विद्यार्थीलाई यो विषयमा भिसाको सम्भावना कम छ भनेर आफूलाई धेरै कमिसन दिने र आफू प्रतिनिधि रहेको विश्वविद्यालयमा मात्र अप्लाइ गर्नमा जोड दिन्छन् जुन सरासर गलत हो । जुनसुकै विषयमा अष्ट्रेलिया आएर पछि फेरी यहाँको बजार र पीआरको लिस्ट अनुसार विषय परिवर्तन गर्दा कम्तिमा एक वर्ष र रू २० लाख जति नेपाली रुपैयाँ बर्बाद मात्र हुन्छ । त्यसैले कन्सट्यान्सिले होइन विद्यार्थी आफैले आफू पढ्ने विषय छनौट गर्नुपर्दछ ।

अष्ट्रेलियामा काम पाउन अंग्रेजीसँगै बायोडाटा पनि राम्रो हुनुपर्छ, यहाँ हेर्नुस अष्ट्रेलियन बायोडाटा

काम र पढाइ

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कानुनी र अध्यागमन नियमले नै सातामा २० घण्टा काम गर्ने अनुमति दिन्छ । तर कर र नियमको दायराभन्दा बाहिर गएर पैसा (क्यास इन ह्याण्ड)मा पनि काम गर्न सकिन्छ । पैसा कमाउनु पर्ने दबाबले गर्दा धेरै विद्यार्थीहरुको रोजाइ काम हुने गरेको छ । तर, काम गरेर कमाइने रकमको तुलनामा फेल भएको खण्डमा पुनः भर्ना गर्दा लाग्ने रकम धेरै हुने भएकाले काममा बढी जोड दिनुभन्दा काम र पढाइलाई बराबर प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाउनु उपयुक्त हुन्छ ।

अष्ट्रेलिया केही वर्ष बसेर पैसा कमाइसकेपछि नेपाल फर्कने योजना छ भने चाहिँ पढाइमा कम तथा काममा बढी ध्यान दिन सकिन्छ । तर मुख्य याद राख्नुपर्ने कुरा के हो भने पढेपछि मात्र पीआर वा आम्दानीको बाटो पत्ता लगाउन सकिन्छ । अष्ट्रेलियाको पढाइ अन्र्तराष्ट्रिय रुपमा नै मान्यताप्राप्त भएकाले पढाइ सकेर विश्वको कुनै पनि कुनामा गएर काम गर्न तथा करिअर बनाउन सकिन्छ । त्यसैले लाखौं करोडौं खर्चको योजना सहित गरिएको अध्ययनलाई सफलता पूर्वक समाप्त गर्नमा जोड दिनु नै सबैभन्दा उत्तम उपाय हुन्छ । धेरै विद्यार्थीहरु काममा बढी जोड दिने र पढाइमा फेल हुने भएकाले अष्ट्रेलियन अध्यागमनले विद्यार्थीहरुको कक्षामा उपस्थिती दर तथा काम गर्ने प्रवृत्तिमा विशेष अध्ययन गरिरहेको हुन्छ । समय समयमा भिसा नियम पालना नगरेका कारण विद्यार्थिहरुको भिसा क्यान्सिल गरेर घर पठाइदिएको समाचार आइरहेको हुन्छ । समाचारको पात्र नहुनका लागि काम र पढाइमा ब्यालेन्स जरुरी हुन्छ ।

आर्थिक व्यवस्थापन

अष्ट्रेलिया अध्ययनका लागि आउने नेपाली विद्यार्थीको एउटा ठूलो समस्या भनेको आर्थिक व्यवस्थापन हो । नेपालबाट अष्ट्रेलिया जानुमात्र पर्छ सबै म्यानेज हुन्छ भनेर अध्ययन योजना बनाइएको हुन्छ । कतिपय त यहाँ रहेका साथीभाई वा आफन्तको सहयोग पाउने आशा पनि राखेका हुन्छन् तर अष्ट्रेलियामा त्यसो हुनु सुखद कल्पना मात्र धेरै मात्रामा हुने गरेको छ । यहाँको सबैभन्दा महत्वको चिज भनेको नै पैसा हो । जुन सापटी वा सहयोगका रुपमा पाउने संभावना निक्कै नै कम हुन्छ । त्यसैले यूनिभर्सिटी तथा कलेजको शुल्क, साथै खाने बस्ने खर्च व्यवस्थाको योजना नेपालबाट नै मिलाउनु उत्तम हुन्छ । कम्तिमा अष्ट्रेलिया आएको एक वा दुई महिनासम्मका लागि आवश्यक पर्ने खर्च लिएर आउनु सबैभन्दा राम्रो र सही निर्णय हुनजान्छ । किनकी काम पाउनका लागि र त्यसमा सेटल हुनका लागि दुई महिना जतिको समय लाग्छ नै, बाँकी रहेको पैसा कलेज, यूनिभर्सिटीको शुल्क तिर्नमा लगाउन सकिन्छ ।

नेपालका बैंकबाट शैक्षिक कर्जा लिएर त्यहीँबाट यूनिभर्सिटी तथा कलेजको शुल्क तिर्ने व्यवस्था मिलाउने र यता कमाएको रकम उता कर्जा तिर्नका लागि प्रयोग गर्ने हो भने अष्ट्रेलियामा पढिन्जेल समस्यामा परिँदैन र आर्थिक व्यवस्थापन पनि सहज हुन्छ ।

नेपालको लाइसेन्सले यसरी चलाउन पाईन्छ अष्ट्रेलियामा गाडी नियम थाहा पाउनुस्

नेपालभन्दा चार गुणा छिटो छ

अष्ट्रेलियाको समय सूर्यमा आधारित भएकाले वर्षमा एकपटक एक घण्टाको तलमाथि हुन्छ । त्यसले पार्ने प्रभावका कारण नेपालसँगको समय अन्तर ४ देखी ५ घण्टा को छ । तर यहाँको जीवन नेपालकोभन्दा कम्तिमा पनि चार गुणा छिटो छ । नेपालमा ३० दिनको महिना हुन्छ भने यहाँ सात दिनको । अर्थात, हरेक साता कामबाट तलब पाइन्छ अनि हरेक साता घरभाडा तिर्नुपर्छ । हरेक कुराको योजना एक साताका लागि बनाउनु उत्तम हुन्छ । सातामा दुई दिन शनिबार र आइतबार छुट्टि हुन्छ, यी दिनमा काम गर्दा अन्य दिनको तुलनामा धेरै दर (पैसा) पाइन्छ । यहाँका मानिसहरु समय प्रति निक्कै सचेत भएकाले समयमा नै काममा पुग्नु र त्यसका लागि समयमा नै बस तथा रेल समात्नु आवश्यक हुन्छ । सिड्नीमा अवसर, समय र रेलले कसैलाई पनि पर्खंदैन ।

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

साथ सीप र श्रीमती

अष्ट्रेलियाको एउटा मुख्य व्यवसाय पर्यटन भएकाले यहाँ पाउने कामहरु पनि यसैसँग सम्बन्धित हुन्छ । त्यसैले अष्ट्रेलिया अध्ययनका लागि आउनेहरुले किचन, कुकरीसँग सम्बन्धित अनुभव र सीप लिएर आउनु राम्रो हुन्छ । त्यसबाहेक हाउस किपिङ, बरिष्टालगायत यहाँ धेरै काम पाउने क्षेत्र हो । त्यसबाहेकका अन्य कामका लागि यहीँ आएर तालिम लिनुपर्ने हुन्छ त्यसका लागि कम्तिमा एकहजार डलरसम्मको योजना बनाउनु उत्तम हुन्छ ।

स्नातक तहमा अध्ययनमा आउनेको डिपेन्डेन्टले २० र स्नातकोत्तर तहमा आउनेकोले सकेजति काम गर्न पाउने व्यवस्था भिसा तथा अध्यागनम नियममा रहेकाले विवाह गर्ने उमेर भएकाले श्रीमती सहित अष्ट्रेलिया आउनु राम्रो हुन्छ । जसले यता आर्थिक साथै मनोवैज्ञानिक पक्षमा समेत सहयोग गर्छ । यतै सेटल भएर बस्ने सोच भएकाले त श्रीमती लिएर आउनु वा बिहे गरेरसँगै आउनु उत्तम हुन्छ । अष्ट्रेलियन समाजमा घुलमिल हुने तथा साथै संघर्ष गर्ने भएकाले जीवनमा पछि समस्या पनि आउँदैन । डिपेन्डेन्ट लिएर आउनेहरुले राम्रै प्रगति गरेका छन् भने छिटो सेटल हुन र पढाइमा जोड दिन सहज हुन्छ ।

के के ल्याउने नेपालबाट अष्ट्रेलिया आउँदा लिस्ट हेर्नुस्

ल्याउनुस मोबाइल, ल्यापटप र लाइसेन्स

अष्ट्रेलिया आएपछि आइफोन, म्याक र गाडी लिने सबैको रहर हुन्छ । तर त्यो पूरा गर्न समय लाग्छ । त्यसका लागि हतार पनि नगरेको नै राम्रो हुन्छ । यहाँ प्याकेजमा आइफोन लिँदा सुरुमा पैसा तिर्नु पर्दैन तर फोनको किस्ता दुई वर्षसम्म तिर्दा एउटा आइफोनलाई एक हजारभन्दा बढी पर्छ त्यसैले बुद्धिमानी चैं नेपालमा चलाइरहेको मोबाइल लिएर आउनु हुन्छ । किनभने यहाँ फोन बाहेक सीम मात्रको प्याकेज लिने हो भने सुविधा धेरै र मूल्य कम पर्छ ।

अष्ट्रेलियामा ल्यापटप किन्न कम्तिमा पनि चार÷पाँच सय डलर र म्याकबुक किन्न एक हजारभन्दा माथि लाग्ने भएकाले सुरुमा आउनेहरुलाई नेपालबाट चलाइरहेको ल्यापटप ल्याउन नै सहज हुन्छ । विश्वविद्यालय तथा कलेजको पढाइ धेरै असाइनमेन्ट अनलाइनमा आधारित हुन्छन् । त्यसो त काम खोज्नका लागि पनि कम्प्युटर आवश्यक हुने भएकाले यहाँ आएको पहिलो दिनदेखी नै चाहिने चिज भएकाले नेपालबाट चलाइरहेको नै ल्याउनु उत्तम हुन्छ ।
नेपालको ड्राईभिङ लाइसेन्सले यहाँ गाडी चलाउन पाइने भएकाले नेपालमा गाडी चलाउने लाइसेन्स लिनुभएको छ भने त्यो लिएर आउनु सही हुन्छ । नेपालको र यहाँको ट्राफिक नियम उस्तै रहेको र गाडीहरुको बनाबट पनि उस्तै भएकाले यहाँ गाडी चलाउन गाह्रो हुँदैन । त्यसो त कारहरु निक्कै सस्तो पनि छन् । यहाँको लाइसेन्स लिन निक्कै नै मुस्किल हुन्छ, त्यसैले यहाँको लाइसेन्सलाई सेकेण्ड पीआर पनि भन्छन् मानिसहरु । नेपालको लाइसेन्समा भएको प्रावधान यहाँ पनि मान्य हुन्छ, नेपालमा कार चलाउन पाउनेले यहाँ पनि त्यही लाइसेन्सको आधारमा कार चलाउन पाउँछ ।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

बढ्दैछन्, एज्ड केयरमा जासुसी क्यामेरा राख्ने - NepaliPage

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई धेरै समय काम गर्न दिने

एज्ड केयर, डिज्याबिलीटी, हेल्थ केयर र फार्ममा काम गर्ने विद्यार्थीहरूले पढाईसँगै पाक्षिक ४० घण्टा भन्दा …