धेरै गाह्रो छ अष्ट्रेलिया, आउनु अघि नै सोचौं

‘ईस्टर’को ‘लङ विकेण्ड’ गफगाफको सिलसिलामा सिड्नीमा लोभलाग्दो करिअर र जिवनशैली बनाएका एक दाजुले भने, ”सिड्नीको फेसबुक टाइमलाइनमा जब ‘एजुकेशन कन्सल्टेन्ट’हरू ‘ट्राभलिङ काठमाण्डौं’ अनि ‘चेकइन’ फलानो एअरपोर्ट भनेर लेख्छन् लौ कतिजनाको भविष्य बिगार्ने भो यसले भन्ने चिन्ता पो हुन्छ मलाई त!!” यस विषयमा आफ्नो कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै ती दाजुले थपे, ‘हुन त उनीहरूले कमाए वा प्रगती गरे बनेर डाढले भनेको हैन तर भरखर प्लस टु सकेका १८-२० वर्षका केटाकेटीलाई शर्टिफिकेट प्लस डिप्लोमा लिडिङ टु ब्याचलर्स (तिनवटा पढाई खप्टाएर लामो कोर्ष)मा अष्ट्रेलिया ल्यायर यो र त्यो कलेजमा झुलाएर दशौं वर्ष विद्यार्थी बनाउँदा अष्ट्रेलियाका कलेज र एजुकेशन कन्सल्टेन्ट बाहेक विद्यार्थीलाई केही फाइदा छैन, नेपालमा भए स्कुलै पढाउँथे कि सहकारीमा नै काम गर्थे होलान् यहाँ आएर धेरै क्लिनिङ र हाउसकिपिङमै रूमल्लिन्छन्, भएन करिअर बर्बाद?’ धेरै हदमा चित्त बुझ्ने ती दाजुको कुरालाई गमेर हेर्दा लाग्छ, ‘शर्टिफिकेट’ ‘डिप्लो’मा  हुँदै ‘ब्याचलर्स’ सकेर पीआर लिएर आफुले पढेको क्षेत्रमा करिअर बनाउनु ‘ओठ निचार्दा दुध झर्ला जस्तो’ उमेरका विद्यार्थीको लागी करिब करिब असम्भव नै छ। किनभने यति सक्दा नै विद्यार्थीको करिब एक देखी डेढ करोड नेपाली रूपैंया खर्च हुन्छ, सबै नेपालबाट ल्याउने कुरा भएन त्यसको जोरजामका लागी दिन-रात, पानी घाम नभनी ‘ढाडबाट तरर.. झरेको पसिनाले कट्टु नभिज्दा सम्म’ काम गर्नुपर्छ।

‘अष्ट्रेलिया अवसरको खुला मैदान हो, जहाँ जे गर्न चाहे पनि प्रगतीका लागी प्रसस्त अवसर छ। फलानो (शेष घले पनि हुनसक्छ वा अरू कुनै नै पनि) पनि अष्ट्रेलिया जाँदा के थियो र, अहिले यस्तो भयो….’ आदी ईत्यादी फुलबुट्टे कुरा ‘एजुकेशन कन्सल्टेन्ट’का मुखारबिन्दुबाट सुनेपछी १८-१९ वर्षको ‘ढुंगा पचाउने’ उमेरका युवालाई के चाहियो, त्यसमाथि अष्ट्रेलियामा बसेकाहरूले गुटुटु गाडी चढेर पार्टीमा मस्ति गरेको देखिएकै छ। यी यस्ता कुरा हुन् जसले अष्ट्रेलिया आउनका लागी ‘क्याटालिस्ट’को काम गर्छन्। त्यसपछी  ‘शर्टिफिकेट’ ‘डिप्लो’मा  हुँदै ‘ब्याचलर्स’को कोर्स प्याकेज (करिब नेपाली करोड देखी डेढ करोड सम्म लागत पर्ने) देखी पैसा लगानी गर्ने ‘डिपेन्डेन्ट’ सम्मको जोरजाम गरेर शरिर सपना बोकेर सिड्नी, मेलबर्न अनि होबार्ट उत्रन्छ नेपाली युवाका। बाँकी ‘देखा जाएका…’, ‘चल जोगी फट्कार छाला, जहाँ जाला भातै खाला…’ शैलीको योजना हुन्छ त्यससँगै सुरू हुन्छ अष्ट्रेलियन संघर्ष, पढाई, काम अनि पीआरको चक्कर।

यो पनि पढ्नुस् : जातकै कारण कोठा दिएनन् अष्ट्रेलियामा

अष्ट्रेलिया अवसरको खुला मैदान भए पनि मैदानमा के गर्ने भन्ने योजना भएन, गर्ने कुराका लागी सिप र पैसा भएन भने त्यो मैदान कुनै कामको हुँदैन। धेरै किशोर अवस्थामा सिड्नी झरेकाहरूलाई यतिखेर यस्तै अनुभव भएको छ, अष्ट्रेलियाको दैनिकी ‘बाघको सवारी’ भएको छ न झर्नु न बस्नु। केही दिन अघि मात्र नेपालमा राम्रै आर्थिक तथा समाजिक हैसियत भएका एक भाई (प्लस टू सकेर अाएका, जो आमाकै जोडबलका कारण अष्ट्रेलिया आएका हुन्)ले आमालाई गरेको गुनासो उनकै आमाले सुनाएकी थिइन ‘बैंगलोर पढ्न गएको साथी सिए बन्छ, ढाका गएको साथी डाक्टर बन्छ, म अष्ट्रेलिया आएर के हुने अब?’ भाईको गुनासो एकदम जायज लाग्यो, उनकै उमेरका साथीभाई सिए र डाक्टर बन्दा सम्म उनको ‘शर्टिफिकेट’ ‘डिप्लो’मा  हुँदै ‘ब्याचलर्स’को कोर्स प्याकेज नै सकिएको हुँदैन, अनि ‘ब्रेड र बटर’का लागी गरिनेकाम लामो समय गर्दा गर्दा त्यसमै आदत भएर र अवसर नमिलेर पढेको क्षेत्रको काममा लाग्ने भन्ने कुरा पनि मरूभूमिमा कुवा जस्तै हुन जान्छ।

यी यस्ता कुरा हुन् जो धेरैले नेपालमा सोचेको पनि हुँदैन र यसलाई समाधान गर्ने योजना पनि बनाएको हुँदैन। किनकी हामी नेपाली तदर्थवादी नै छौं जिवनको सवालमा पनि। त्यसैले छोराछोरीलाई अष्ट्रेलिया पठाउन वा विद्यार्थीले अष्ट्रेलिया आउन अघि अष्ट्रेलियाका विभिन्न पक्षका बारेमा अध्ययन गरेर मात्र ‘सूसुचित निर्णय’ लिनुपर्छ आफ्नोलागी अष्ट्रेलिया सहि हो कि नेपाल नै वा अरू कुनै देश।

नेपालबाट अष्ट्रेलिया स्टुडेन्ट भिजामा आउने बारेमा सोच्दै हुनुहुन्छ भने पहिले यो वेबसाइट पढ्नुस् ताकि पछी दुख नहोस् अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

नेपाली अभिभावकहरुमा छोराछोरी यूरोप वा अमेरिकाको कुनै शहरको कुनै शहरमा गएर भविष्य बनाओस् भन्ने चाहना धरै छ आजकल। त्यसैले विद्यार्थीका रुपमा यूरोप, अष्ट्रेलिया तथा अमेरिका भित्रने नेपालीको संख्या निरन्तर बढिरहेको छ। त्यसमा पनि अष्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली यूवाका लागि, जहाँ पुगेपछि सामान्य प्रयासमा नै सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । तर वास्तविकता काठमाडौंबाट देखिनेभन्दा धेरै नै फरक छ । अष्ट्रेलिया अध्ययनका लागि आउने हो भने नेपालमा रहँदा नै केही विषयमा स्पष्ट हुनु जरुरी हुन्छ ।

नर्सिङ भनेर पनि हुँदैन, सजिलो छैन अष्ट्रेलियामा पीआर पाउन

गाह्रो भयो अब पीआर

अष्ट्रेलिया पढ्न आउनका लागी आकर्षण गर्ने कुरा भनेको नै यहाँ विद्यार्थीले आफ्नो अध्ययन सकेपछिको दुई वर्ष यहीँ बसेर काम गर्ने अवसर पाउँछ साथै स्थायी बसोबासको लागी प्रबन्ध गर्न सक्छ। पीआर अर्थात सँधैका लागी अष्ट्रेलिया बस्न पाउने अधिकार। यसैले धेरै नेपालीलाई अष्ट्रेलिया तानेको हो, नत्र यहाँ गर्ने भन्दा कम खर्चमा नै डाक्टर, ईन्जिनियर बन्न सकिन्छ नेपालमा। यतिखेरको अध्यागमन व्यवस्था अनुसार उच्च तह (स्नातक वा स्नातकोत्तर)को अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ । यो त्यही समय हो जतिखेर पूरै समय काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ र पीआरको लागी कदम अगाडी बढाउन सकिन्छ। तर हालै विश्वभर चलेको राष्ट्रियताको लहरले अष्ट्रेलियालाई पनि प्रभावित पारेको छ जसका कारण अष्ट्रेलियाले आप्रवासी लिने क्रमलाई स्वात्तै घटाएको छ। यसको सिधा प्रभाव भनेको अब यहाँ अष्ट्रेलिया पढ्ने विद्यार्थीहरूले पहिले जस्तो सजिलै पीआर पाउँदैनन्।

यतिखेर अंग्रेजी राम्रो (पीटिई वा आइएलटिएसमा हरेक ब्याण्ड मा आठ ल्याउने) भएका र पढाईसँग सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका बाहेक अरुको लागी पीआर धेरै नै गाह्रो भईसकेको छ। त्यसमा पनि ‘शर्टिफिकेट प्लस डिप्लोमा लिडिङ टु ब्याचलर्स’ प्याकेजमा पढ्न आउनेलाई त यो करिब करिब आकाशको फल नै भयो भन्दा हुन्छ। अष्ट्रेलियामा नर्सिङ, आइटी र अकान्टिङ विषय पढेका अन्तर्राष्ट्रिय विद्यार्थीले पीआर पाउने सम्भावना धेरै भने पनि त्यो सजिलो भने छैन। पीआरलाई केन्द्रमा राख्ने हो भने अष्ट्रेलिया आइसकेपछि काममा भन्दा पनि धेरै ध्यान पढ्नमा दिनुपर्ने हुन्छ । धेरै समय र पटक–पटक फेल भएर पढिरहन नपाइने भएपनि नेपालबाट आउनेले फेल भएर लामो समय बिताउने सोच्नु भने गलत हुनजान्छ। जति ढिला भयो पीआरका लागि त्यति नै धेरै मुस्किल र तरिका अपनाउनुपर्ने हुन्छ।

अष्ट्रेलिया अध्ययन प्रष्ट हुनुपर्ने कुराहरु

अष्ट्रेलियामा काम पाउन अंग्रेजीसँगै बायोडाटा पनि राम्रो हुनुपर्छ, यहाँ हेर्नुस अष्ट्रेलियन बायोडाटा

काम र पढाइ दुवै गाह्रो नै हुन्छ

अष्ट्रेलियामा विद्यार्थीलाई काम गर्ने र कमाउने छुट छ तर त्यसो भन्दैमा काम फालाफाल पाईन्छ भन्ने चैं हैन। अष्ट्रेलिया आएको पाँच सात महिना सम्म कामै नपाउने पनि हुनसक्छ। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि कानुनी र अध्यागमन नियमले नै सातामा २० घण्टा काम गर्ने अनुमति दिन्छ। तर कर र नियमको दायराभन्दा बाहिर गएर पैसा (क्यास इन ह्याण्ड)मा पनि काम गर्नेहरू पनि धेरै छन् । पैसा कमाउनु पर्ने दबाबले गर्दा धेरै विद्यार्थीहरुको रोजाइ काम हुने गरेको छ । तर, काम गरेर कमाइने रकमको तुलनामा फेल भएको खण्डमा पुनः भर्ना गर्दा लाग्ने रकम धेरै हुने भएकाले काममा बढी जोड दिनुभन्दा काम र पढाइलाई बराबर प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाउनु उपयुक्त हुन्छ ।

अष्ट्रेलिया केही वर्ष बसेर पैसा कमाइसकेपछि नेपाल फर्कने योजना छ भने चाहिँ पढाइमा कम तथा काममा बढी ध्यान दिन सकिन्छ । तर मुख्य याद राख्नुपर्ने कुरा के हो भने पढेपछि मात्र पीआर वा आम्दानीको बाटो पत्ता लगाउन सकिन्छ । अष्ट्रेलियाको पढाइ अन्तर्राष्ट्रिय रुपमा नै मान्यताप्राप्त भएकाले पढाइ सकेर विश्वको कुनै पनि कुनामा गएर काम गर्न तथा करिअर बनाउन पनि सकिन्छ । त्यसैले लाखौं करोडौं खर्चको योजना सहित गरिएको अध्ययनलाई सफलता पूर्वक समाप्त गर्नमा जोड दिनु नै सबैभन्दा उत्तम उपाय हुन्छ। धेरै विद्यार्थीहरु काममा बढी जोड दिने र पढाइमा फेल हुने भएकाले अष्ट्रेलियन अध्यागमनले विद्यार्थीहरुको कक्षामा उपस्थिती दर तथा काम गर्ने प्रवृत्तिमा विशेष अध्ययन गरिरहेको हुन्छ। समय समयमा भिसा नियम पालना नगरेका कारण विद्यार्थिहरुको भिसा क्यान्सिल गरेर घर पठाइदिएको समाचार आइरहेको हुन्छ। समाचारको पात्र नहुनका लागि काम र पढाइमा ब्यालेन्स जरुरी हुन्छ ।

सजिलो छैन पैसा कमाउन

अष्ट्रेलिया आउने विद्यार्थी तथा छोराछोरी पठाउने अभिभावकले छोराछोरीले पढाई नसकेसम्म नेपाल पैसा पठाउन सक्दैनन् त पढाई सक्नको लागी करिब ५० देखी ७० लाख लाग्छ भन्ने कुरा सुरूमा नै बुझिराख्नुपर्छ। त्यसको व्यवस्थापन खराब अवस्थामा सबै नेपालबाट गर्न सक्छु भन्ने आर्थिक अवस्था छैन भने अष्ट्रेलिया आउने वा पठाउने कुरामा अलिक सोच्नै पर्छ। अध्ययनका लागि आउने नेपाली विद्यार्थीको एउटा ठूलो समस्या भनेको आर्थिक व्यवस्थापन हो । नेपालबाट अष्ट्रेलिया जानुमात्र पर्छ सबै म्यानेज हुन्छ भनेर अध्ययन योजना बनाइएको हुन्छ । कतिपय त यहाँ रहेका साथीभाई वा आफन्तको सहयोग पाउने आशा पनि राखेका हुन्छन् तर अष्ट्रेलियामा त्यसो हुनु सुखद कल्पना मात्र धेरै मात्रामा हुने गरेको छ । यहाँको सबैभन्दा महत्वको चिज भनेको नै पैसा हो । जुन सापटी वा सहयोगका रुपमा पाउने संभावना निक्कै नै कम हुन्छ । त्यसैले यूनिभर्सिटी तथा कलेजको शुल्क, साथै खाने बस्ने खर्च व्यवस्थाको योजना नेपालबाट नै मिलाउनु उत्तम हुन्छ । कम्तिमा अष्ट्रेलिया आएको एक वा दुई महिनासम्मका लागि आवश्यक पर्ने खर्च लिएर आउनु सबैभन्दा राम्रो र सही निर्णय हुनजान्छ। किनकी काम पाउनका लागि र त्यसमा सेटल हुनका लागि दुई महिना जतिको समय लाग्छ नै, बाँकी रहेको पैसा कलेज, यूनिभर्सिटीको शुल्क तिर्नमा लगाउन सकिन्छ ।

नेपालका बैंकबाट शैक्षिक कर्जा लिएर त्यहीँबाट यूनिभर्सिटी तथा कलेजको शुल्क तिर्ने व्यवस्था मिलाउने र यता कमाएको रकम उता कर्जा तिर्नका लागि प्रयोग गर्ने हो भने अष्ट्रेलियामा पढिन्जेल समस्यामा परिँदैन र आर्थिक व्यवस्थापन पनि सहज हुन्छ। काम गर्ने सवालमा पनि धेरै ध्यान दिनुपर्छ, सके सम्म ठूला कम्पनी वा रोजगार एजेन्टको माध्यमबाट काम गरेको खण्डमा पैसा अलिक धेरै पाउन सकिन्छ। फेसबुक वा गमट्रीका विज्ञापनबाट गरिने काममा परिश्रम धेरै तर कमाई कम हुन्छ कतिपयले त विद्यार्थीले दुख गरेर कमाएको पैसा नै खाइदिन्छन्। त्यसो त सापटी र ढुकुटी माग्ने खेल्ने खेलाउनेहरूसँग पनि जोगिनु पर्छ।

नेपालको लाइसेन्सले यसरी चलाउन पाईन्छ अष्ट्रेलियामा गाडी नियम थाहा पाउनुस्

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …