अष्ट्रेलियामा नेपालीले काम पाउन मुस्किल पर्ने कारणहरू

अष्ट्रेलियामा हरेक दिन नयाँ नयाँ अवसरहरू खुलिरहेका हुन्छन् काम तथा रोजगारीका लागी। यहाँका रोजगारीका सूचना दिने वेबसाइटहरू हेर्ने हो भने दैनिक ३५ हजार जति नयाँ कामदार तथा कर्मचारी माग भएका सूचना अपडेट भएको पाउन सकिन्छ। तर यहाँ धेरै जसो विदेशबाट आउने विद्यार्थी तथा आप्रवासीले रोजगार पाईहाल्न मुस्किल हुने कारण चाही यहाँको भाषा, रोजगारी प्रक्रिया र अनुभवको कमी हुने गरेको छ। कतिपय अवस्थामा रोजगारदाताले अनुभव र योग्यता भएको खण्डमा पनि काममा राख्न ‘रिजेक्ट’ गरिरहेको हुन्छ। विशेष आईटीको क्षेत्रमा कतिपय रोजगारदाताले ‘पीआर’ वा ‘सिटीजनशिप’ भएका मानिस नै राख्नमा जोड दिन्छन् जसले गर्दा विद्यार्थी भिसामा हुने वा ‘ग्र्याजुयट’ भिसामा हुनेलाई समस्या पनि परिरहेको हुन्छ। भिसाको कुरा अलिकति फरक पाटो भयो, रोजगारदाताले काम गर्ने सिप र दक्षताका साथ संभावित कामदारको संस्कार, शैली र सोचलाई पनि प्राथमिकतामा राख्ने गरेको पाईन्छ। चाहे जुनसुकै खालको कामको लागी अन्तर्वाता वा ‘ट्रायल’मा जानुस् तपाईको ‘पर्सनालिटी’, सकारात्मक सिक्न चाहने उत्सुकता (पोजेटिभ लर्निङ एटिच्युड) र छिटो छरितो काम गर्ने बानी (इफिसियन्सी) छैन भने तपाईंले काम नपाउने पक्का नै हुन्छ।

अष्ट्रेलियनहरू धेरै समय काममा बिताउन चाहँदैनन्, यो अष्ट्रेलियाको ‘कल्चर’ पनि हो। साताको दुई दिन बिदा हुने चलनलाई पनि यसको संकेतको रुपमा लिनसकिन्छ। सँगै यसको मतलब के पनि हो भने अष्ट्रेलियनहरू कामको समय भनेपछी पूर्ण रूपमा काममा नै दत्तचित्त हुन्छन्। नेपालमा आम रूपमा रहेको ‘काम चोर’ वा ‘झारा टार्ने’ बानी भयो भने अष्ट्रेलियामा काम नपाउने चैं निश्चित छ। कोही किचनमा कामको अनुभव भएका साथी भाई हुनुहुन्छ भने सोध्नुस्, काम नै छैन भने पनि सफा टेबल पुछेर भएपनि बस्नुपर्छ। त्यसो त काम गर्दा आफ्नो र सहकर्मीको सुरक्षाको बारेमा सतर्क रहनु अति अावश्यक हुन्छ ‘वर्क हेल्थ सेफ्टी’ यहाँको अति नै महत्वको विषय हो। धेरै नेपालीहरूले यस्ता कुरामा हेलचेक्र्याईं गरेको पाईन्छ, जुन कामबाट निकालिनको लागि पर्याप्त हुन्छ।

यहाँ यो आलेखमा बुँदागत रूपमा नेपालीहरूलाई अष्ट्रेलियामा के कारण काम पाउन असजिलो वा मुस्किल भईरहेको छ भन्ने चर्चा गरिन्छ:

भाषा

Reasons why Nepalese in Australia unable to find a proper job - NepaliPage

नेपालमा अष्ट्रेलिया जाने भनेर महिनौं कनिकुथि गरेर अंग्रेजीमा ५.५ वा ६ हरेक ब्याण्डमा ल्याईएको हुन्छ (मेरो अनुभव पनि फरक छैन) तर दैनिक प्रयोगमा भने खासै नगरिने भएकाले हामीहरूलाई भाषाको समस्या अष्ट्रेलियामा धेरै हुन्छ। अष्ट्रेलियामा काम नपाउनुको मुख्य कारण नै अंग्रेजी भाषा नजानेर भन्दा पनि सजिलै प्रयोग गर्न नसकेर हो। भाषा सजिलै बुझेन भने त्यसले ‘वर्क हेल्थ सेफ्टी’मा नै प्रभाव पार्ने भएकाले यहाँका रोजगारदाता सकेसम्म अंग्रेजी फरर नै बोल्ने मानिसलाई काममा राख्न खोज्छन्। हाम्रो समस्या के भने अष्ट्रेलियामा आएपछी नेपालमा भएको अंग्रेजी प्रयोगको सिप पनि हराउँछ, नेपाली धेरै भएको कलेजमा नै पढ्ने, नेपाली नै साथी, नेपालीसँगै बस्ने, काम पनि नेपालीहरूसँगै हुने अनि यहाँका पत्रिका नपढ्ने र नेपाली सिनेमा नै हेर्ने। अर्को देश वा यहाँको सिनेमा, मानिस र मिडियासँग संगत नै नगरेर शुद्ध नेपाली प्रयोग गरेपछी अष्ट्रेलियामा बसेपनि सबै नेपाली पारा नै आउँछ। ‘अष्ट्रेलिया आएपछी मेरो अंग्रेजी बिग्रियो’ भनेको सुनिने अवस्था छ। त्यसैले दैनिक व्यवहारमा अंग्रेजी नै प्रयोग गर्नुस्, हामीले जस्तो सोचेर पुरै ग्रामर मिलाएर बोल्नुपर्दैन (जाँच होईन, अर्थपूर्ण बोल्दा हुन्छ) अरू त बोल्दै जाँदा सुधार भई नै हाल्छ।

 

अनुभव

अष्ट्रेलियामा नेपालीले काम पाउन मुस्किल पर्ने कारणहरू - NepaliPage

‘राजाका छोरी, हाँसी खेली बढेका’ हामी धेरै अष्ट्रेलिया आउने सपना बोकेका वा अष्ट्रेलिया आएकाहरूको अवस्था यही नै हो। नेपालमा डुलेर ‘सिन्को नभाँची’ बस्नेहरू अष्ट्रेलिया आएपछी एक्कासी शारिरीक, मानसिक रुपमा दबाबमा पर्ने गरि काम गर्नुपर्ने अवस्थामा पुग्छन्। कतिलाई त यो एक्कासीको कामसँगको साक्षात्कार मानसिक झट्का दिने नै हुन्छ, यद्यपी नेपालबाट भने ‘जे भएनि गर्ने हो’ भनेर आईएको हुन्छ। यहाँ सुरूमा धेरैको कामको सुरूवात शारिरीक श्रम सहितको कामबाट नै हुन्छ। नेपालबाट मात्र होईन अमेरिका, बेलायतबाट आउनेले गर्ने काम पनि उस्तै नै हो। अष्ट्रेलिया सरकारले आफ्नो श्रम बजारलाई हेरेर नै भिजाको नीति बनाएको छ, विद्यार्थीको रुपमा आउनेहरूलाई शहरका रेष्टुरेन्ट र पर्यटनका क्षेत्रमा सस्तो कामदारका रूपमा लगाउने र अमेरिका, बेलायत तथा अरू ‘वर्क होलिडे’ भिजाका लागि योग्य मुलुककाहरूलाई ग्रामिण क्षेत्रमा कृषि मजदूरीमा लगाउने काम चैं भिजाका सर्तले नै गरेका हुन् भन्दा पनि फरक नपर्ला। अष्ट्रेलिया आउने वा आईसक्नु भएको छ भने शारिरीक श्रम सहितको कामका लागि तयार हुनुस्, हात छिटो चलाउने स्फुर्तिलो बन्नुस्। यहाँको कामहरू ध्यान दिएर सिक्यो भने २ घण्टामा हरेक जस्तो काम सिक्न सकिन्छ। शारिरीक श्रम भनेर नेपाल वा मध्यपूर्वको जस्तो मुस्किल चाहीँ हुँदैन, किनकी धेरै काम ‘मेसिन’ले गर्ने हो। त्यसमा पनि यहाँका रोजगारदाता तपाईंको क्षमता, स्वास्थ्य र सुरक्षा बारे सचेत र जिम्मेबार हुन्छन्।

 

रोजगारीको शैली

अष्ट्रेलियामा नेपालीले काम पाउन मुस्किल पर्ने कारणहरू - NepaliPage

हामी नेपालीहरूले अष्ट्रेलियामा काम नपाउनुको अर्को मुख्य कारण भनेको हामीले काम र अवसरका लागि गर्ने ‘अप्रोच’ (लिने शैली) नमिलेर हो। अष्ट्रेलियामा काम कसरी खोज्ने, कसरी आवेदन गर्ने र अन्तर्वातामा कसरी सहभागी हुने भन्ने कुराहरूमा जानकारी नभएर वा यस्ता कुरालाई ध्यान नदिएर हो। अष्ट्रेलियामा कामका अवसर पाउने भनेको विभिन्न वेबसाईट वा रोजगार एजेन्सीबाट हो। यहाँ ठूला कम्पनिहरू कर्मचारी एजेन्सीबाट लिन्छन्। प्रोफेसनल खालका कामहरूमा चाही प्रोफेसनल नेटवर्क र लिंक्डइन जस्ता नेटवर्किङ साईटबाट कर्मचारीहरू राख्ने गरिन्छ। सबैभन्दा महत्वको कुरा यहाँ बुझ्नुपर्ने के हो भने अष्ट्रेलियामा ‘रिफरेन्स’ले काम गर्छ। ‘माईग्रेसन कन्ट्री’को प्रवृत्ती नै हो ‘रिफरेन्स’मा कामदार खोज्ने वा राख्ने।

यहाँनेर हरेकले बुझ्नुपर्ने के हो भने तपाईंको रिज्युम, रेफरेन्स र रेस्पोन्सले नै तपाईंलाई काम मिलाउने हो।

यहाँबाट अष्ट्रेलियन शैलीको रिज्युम डाउनलोड गर्नुस् (यहाँ भएका जानकारीलाई सामान्य हेरफेर गरेर आफ्नो अनुभव, सिप र सूचना राखेर आफ्नै रिज्यम बनाउनुहोस्)

यहाँबाट अष्ट्रेलियाका १२५ काम खोज्ने वेबसाईटमा जानुस

यहाँ क्लिक गरेर काम मिलाउने रोजगार एजेन्सीमा आफूलाई दर्ता गराएर राख्नुस् ताकी काम उपलब्ध हुनासाथ तपाईंलाई बोलाओस्।

 

धेरै नेपालीहरु अष्ट्रेलिया आईसकेपछी पनि नेपालको राजनीति, समाचारर वेबसाइटका विश्लेषणहरुमा नै धेरै भुलिरहेका हुन्छन्। त्यो पनि नेपालीलाई अष्ट्रेलियामा रोजगारी र उन्नती गर्नबाट रोक्ने एउटा प्रमुख कारण हो। जसले उनिहरूले यहाँ भोग्न परेका समस्यामा कुनै हल दिन सक्दैनन् न त काम र यहाँको भविष्यका लागी बाटो नै देखाउन। यहाँ एक दिन काम नगर्नु भनेको करिब ३०० देखी ४०० डलर नकमाउनु हो, तपाईंको विदाको दिन बिताउँदा कम्तिमा पनि त्यती बराबरको ईन्जोय गर्नुस्, परिवारलाई समय दिनुस् अनि करिअर र अष्ट्रेलियामा तपाईंको दैनिकीमा उत्साह थप्ने कुरामा लगाउनुस्।

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …