सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

अष्ट्रेलियामा आउने नेपालीहरू चाहे स्टुडेन्ट भिजामा होस् या नेपालबाट नै पीआर लिएर, उनीहरूको सुरूवाती दिनका अनुभवहरू खासै फरक हुँदैनन्। तर, स्टुडेन्ट भिजामा आउनेलाई पीआर लिएर आउनेलाई भन्दा आर्थिक दबाब बढी हुन्छ। अष्ट्रेलियामा आईसकेपछी सबैभन्दा सुरूमा नै उनीहरूलाई पर्ने समस्या भनेको काम र कोठाको हो। हुन त नेपालबाट आउनेहरूले आफन्त वा साथीभाईसँग सुरूवाती दिनमा सहयोगको लागि व्यवस्था मिलाएर नै आएका हुन्छन्। तर पनि अष्ट्रेलियामा काम र कोठाको बन्दोबस्ती मिलाउनको लागी सजिलो भने छैन। नेपालीहरू मात्र नभएर अष्ट्रेलिया आउने सबैले सुरूमा बस्नको लागी गर्ने व्यवस्था भनेको अरूसँग मिलेर युनिट वा घर भाडामा लिएर बस्ने हो। किनभने यहाँ युनिट तथा घर लिनको लागी निश्चित कमाईको निश्चितता रियल स्टेट एजेन्टले खोज्दछ। जुन सुरूमा नै नहुनपनि सक्छ, त्यसमा पनि घरभाडा सस्तो छैन। साताको ५००- ६०० डलर भाडा लाग्ने भएकाले  चलन चल्तिको भाषामा ‘सेयरिङ’ नै यहाँको बसाईंको शैली बनेको छ। ‘सेयरिङ’मा बस्दा टिभी, फ्रिज, माईक्रोवेभ, वासिङ मेसिन देखी  खाना बनाउने भाँडाहरू साझे गरेर चलाउन पाईन्छ। चलाउन दिने चलन छ। त्यसैले भरखर भरखर आउने स्टुडेन्टहरूका लागि ‘सेयरिङ’ सजिलो शैली हो। त्यसो त कमाई र खर्चको सम्बन्धलाई सकारात्मक राख्नको लागी धेरैलाई यो बसोबासको शैली सहज छ। हुन त नेपाली बाहेक अरूको पनि बसोबासको शैली यही नै हो।

यसरी बस्नु सजिलो भएपनि कतिपयको बानी र व्यवहार सही मिल्न सकेन भने ‘सेयरिङ’ सबैको लागी उस्तै तरिकाले सहज चाहीँ हुँदैन।नेपालीहरूको बसोबासको कुरा गर्ने हो भने पीआर भएका र केही वर्ष पहिले आएकाले भरखर भरखर आएकाहरू प्रति देखाउने व्यवहारले पनि कतिपयको ‘सेयरिङ’को बसाईं नराम्रो अनुभवका साथ सुरू हुन्छ। तर एक आपसमा असल सम्बन्ध र व्यवहार देखाउने हो भने ‘सेयरिङ’नै अष्ट्रेलियामा संवृद्धीको सुरूवात पनि हुनसक्छ। ‘सेयरिङ’का धेरै फाईदा छन् तर यसरी साझे गरेर घर तथा युनिटमा बस्दा भुल्नु नहुने कुरा ‘सेयरिङ ईज केयरिङ’ हो। मतलब ‘सेयरिङ’मा बस्नेले आफुसँग बस्नेको सुगमता र सहजताको बारेमा पनि ख्याल गर्नुपर्छ। अष्ट्रेलियन समाज नै आफ्नो कारण अरूलाई असजिलो त भएको छैन भनेर ख्याल गर्ने समाज हो। जसलाई अष्ट्रेलिया आएकाहरूले अपनाउनु पनि पर्छ।

‘सेयरिङ’मा बस्दा यदी खराब बानी, व्यहोरा भएका साथीभाई परे भने त्यसले बसाईंको अनुभव मात्र होईन, काम, पढाई र व्यक्तित्वमा नै नकारात्मक असर पार्दछ। स्वदेश वा विदेश जहाँभएपनि एउटा खराब संगत र बसाईं हानिकारक नै हुन्छ। त्यसैले ‘सेयरिङ’मा बस्दा केही यस्ता कुरामा ध्यान दिनुपर्छ जुन सामान्य नै लाग्छन् तर असर भने असामान्य छोड्छन्।सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

के गर्ने ?

  • ‘सेयरिङ’मा बस्नु अघि आफुले कोठाभाडा, पानी, बिजुली, ईन्टरनेटको कति शुल्क तिर्नुपर्ने हो र के के चिजहरू चलाउन पाउने हो त्यसको निश्चित गरेर बस्नुस्।
  • ‘सेयरिङ’मा बस्दा साथीभाई वा आफन्त वा अन्य पहिले नै चिनजान नभएकाहरूसँग पनि बस्न सकिन्छ, तर यसरी बस्दा व्यक्तिगत गोपनियताका बारेमा तपाईंले ख्याल गर्नुपर्छ। तपाईंलाई जस्तै अरूलाई पनि आफ्नो गोपनियतामा उत्तिकै चासो हुन्छ।
  • आफुसँग बस्ने साथीभाईसँग आफ्नो त्यति मात्र कुराहरू सेयर गर्नुस् जति आवश्यक छ। व्यक्तिगत सूचनाको गलत फाइदा उठाउनेको संख्या पनि कम छैन अष्ट्रेलियामा। आफ्नो काम र कमाईको बारेमा पनि कमै मात्र खुल्नुस्।
  • यदी रूम सेयरिङमा बस्नुहुन्छ भने वार्डरोव साथै अन्य प्रयोगका सामानहरू चलाउँदा दुवैजनाको सहमती र सल्लाह गरेर पालो वा प्रयोगको सर्तहरू तय गर्नुस्।
  • ‘सेयरिङ’मा बस्दा घर, युनिट तथा कोठामा बस्दा हुने टुटफुट तथा बिगारको भागिदार तपाईं पनि हुने भएकाले तिनको प्रयोग र उपयोग आफ्नो जस्तै गरेर गर्नुस् र सँगै बस्नेलाई पनि त्यसबारे जानकार गराउनुस्।
  • ‘सेयरिङ’मा सँगै बस्नेसँग मित्रवत् र असल सम्बन्ध बनाउनमा जोड दिनुस्। उनीहरूलाई आवश्यक परेको समयमा साथ, सहयोग दिन नचुक्नुस्। किनभने अष्ट्रेलियामा घर र आफन्त भन्दा टाढा बस्दा तपाईंको परिवार र आफन्त भनेको सँगै बस्ने साथिभाई, दिदीबहिनी नै हुन्। उनीहरूसँग सम्मान, माया र मित्रवत् सम्बन्ध राख्नु दुवैको लागी हितकारी हुन्छ।
  • ‘सेयरिङ’मा साथै बस्नेहरूलाई तपाईंको बानी, व्यवहारले केही फरक परेको छ, छैन पनि सोध्नुस्। मिले सम्म आफ्नो बानी र व्यवहार उनीहरूको लागी पनि सहज बनाउनुस्। उदाहरणको लागी कामको सिफ्ट र जाने समयबारे कुराकानी गरेर, बाथरूम तथा खाना बनाउने समय छलफल गरेर फरक फरक पार्न सकिन्छ।
  • सँगै बस्दा घर, युनिट तथा कोठा साप्ताहिक पालो मिलाएर सफा गर्ने गर्नुस्। मिलेर कसैले भुईंमा मोप गर्ने, कसैले भ्याकुम लगाउने तथा कसैले भित्ता, ढोका, टेबल पुछ्ने गर्न सकिन्छ। बाथरूम र घरको भित्री र बाहिरी भाग सफा राख्नमा सँधै सतर्क हुनुस् र मिलेर यसको लागी पालो वा जिम्मेबारी बाँढफाँढ गर्नुस्।
  • एउटै घर, युनिट तथा कोठामा बस्नेहरू बीच यदी पढाई, युनिभर्सिटी, कलेज मिल्छ भनेर सँगै मिलेर पढ्नुस्। समुहमा पढ्दा एक अर्काबाट नयाँ कुरा जानिने सम्भावना हुन्छ।
  • सकेसम्म सँगै बस्नेहरू बीचको कुराकानीको भाषिक माध्यम अंग्रेजी बनाउनुस्, ताकी अंग्रेजीसँग सजिलो महशुस होस्। टेलिभिजन तथा फिल्म हेर्दा पनि सक्दो अंग्रेजीभाषाकामा जोड दिनुस्।
  • अरूको सामान चलाउँदा ध्यान दिनुस्। आफूले चलाउँदा त्यसमा खराबि भए त्यसको सोधभर्ना (रिप्लेस) गर्नुस्।

सेयरिङमा बस्दा ध्यान दिनुपर्ने कुराहरू

के नगर्ने !

  • सँगै बस्ने र दाजुभाई वा दिदीबहिनी वा साथी साथीको जस्तो सम्बन्ध भएपनि निजी र व्यक्तिगत सम्बन्ध र कुराहरूमा चासो नदिनुस्।
  • आफूलाई जसरी नै कुनै कुराहरू अरूलाई पनि मन नपर्न सक्छ त्यसैले त्यस्ता कुराहरु नगर्नुस् जसले तपाईंसँग कोठा, युनिट वा घर सेयर गरेर बस्ने अरूलाई चित्त दुख्छ।
  • पर्सनल हाईजेन र घरको सरसफाईका विषयमा वेवास्ता नगर्नुस्। बाथरूम, लाउन्ज, किचन प्रयोग गरिसकेपछी सफा गरेर छाड्नुस्। सिंकमा जुठा भाँडा, डाइनिङ टेबलमा पोखिएका खानाका टुक्रा, लण्ड्रीमा फोहर कपडा, बाथरूममा रौं तथा नुहाउँदाका फिंजहरू छोड्ने नगर्नुस्।
  • बाथरूम चिसो र पानी पानी भएको अवस्थामा नछोड्नुस्। अष्ट्रेलियामा बाथरूम सुख्खा नै राख्ने चलन छ। तपाईंले चिसो र भिजेको अवस्थामा छोड्दा सँगै बस्ने अर्को चिफ्लेर लड्ने संभावना धेरै हुन्छ।
  • चर्को आवाजमा कुराकानी, गित, संगित सुन्ने तथा टेलिभिजन हेर्ने र राती ढिलोसम्म हल्ला खल्ला गरेर बस्ने नगर्नुस्। सबैलाई काममा सही समयमा पुग्नुपर्छ अनि निन्द्रा पनि पुरयाउनु पर्छ।
  • ढोका खोल्दा बन्द गर्दा ठूलो आवाजले ‘ढ्याम्म’ हुने गरी नगर्नुस्। यसले सँगै बस्ने मात्र नभएर अर्को युनिट सम्म ‘डिस्टर्ब’ गर्छ।

यी ‘सेयरिङ’मा बस्दा ध्यान दिनुपर्ने कुराहरू मध्येका केही व्यवहार भए। तपाईंको अनुभव र विचारमा अरू के के कुरामा ध्यान दिनुपर्ला  तल कमेन्टमा लेख्नुस् ल !

 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …